साउदी अरब, २३ मङ्सिर । विगत दुई वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका दुई नेपालीले उद्धारका लागि आग्रह गरेका छन् ।
अदालतले तोकेको जेल सजाय पूरा भएको महिनौं बितीसक्दा पनि जेल मुक्त नगरेको भन्दै रोल्पा जिनावांग–३ का २४ वर्षीय गणेश ओली र सोही स्थानका २९ वर्षीय रमेश गुरुङले उद्धारका लागि सहयोग गर्न आग्रह गरेका हुन् । काठमाडौँमा रहेको सोसियल मेनपावरमार्फत् चार वर्षअघि रोजगारीका लागि साउदी अरब आएका उनीहरु चोरी मुद्दामा जेल परेका हुन् ।
औषधि आपूर्ति गर्ने एक कम्पनीमा लोडीङ कामदारकारुपमा कार्यरत उनीहरुलाई औषधि चोरी गरेको आरोपमा कम्पनीले जेल हालेको हो । २७ महिनाअघि जेल परेका उनीहरु हाल जेद्धास्थित आम जेलमा रहेका छन् ।
“हामीले दैनिकजसो औषधि लोडअनलोड गथ्र्यौँ, एक दिन औषधि अनलोड गर्ने क्रममा औषधिको परिमाणमा तलमाथि देखिएपछि हामीलाई चोरी गरेको आरोपमा जेल हालियो, हामी निर्दोष छौँ, हामीसँगै कामगर्ने एक साउदी नागरिकले हामीलाई फसाएको हो,” पीडित गणेश ओलीले रासससँग भन्नुभयो ।
पीडित ओलीका अनुसार अदालतले डेढ वर्षको जेल सजाय सुनाएको भएपनि जेल परेको २७ महिना बितीसक्दासम्म पनि जेल मुक्त गरिएको छैन । जेल सजाय पूरा भएपछि घर जाने आशामा रहेका उनी जेल मुक्त नगरेपछि चिन्तित वनेका छन् ।
जेल जीवन विताइरहेका अर्का पीडित रमेश गुरुङले आपूmहरुले विनाकसुर जेलसजाय भोग्नु परेको दुखेसो गर्नुभयो । हामीले त कम्पनीले दिएको परिमाणअनुसार सामान चढाउने र झार्ने काम गरेका हौँ, हामीलाई सँगै कार्यरत साउदी नागरिक र सुडानी ड्राईभरले फसाएको हो । अदालतले तोकेको जेल सजाय नौ महिना अघि नै पूरा भइसक्यो, तर हामीलाई जेल मुक्त गरिएको छैन, पीडित गुरुङले भन्नुभयो, दूतावासमा सम्पर्क गर्दा फोन उठ्दैन, हाम्रो मुद्दा के भइरहेको छ बुझिदिने कोही भएन, हामी त जेलमै सड्ने भयौँ, हामीलाई यहाँबाट कसले उद्धार गर्ला ?
यता जेद्धास्थित महावाणिज्य दूतावासका वाणिज्यदूत मनहरी दङ्गालले भने कार्यव्यस्तताका कारण सो मामिला जानकारीमा आएपनि बुझ्न नसकिएको प्रतिक्रिया दिनुभयो । “जेलबाट उहाँहरुले फोन गर्नुभएको थियो, तर कार्यालयमा म एक्लै भएका कारण सो विषयमा केही बुझ्न र प्रकृया अगाडि बढाउन मौका मिलेको छैन,” दङ्गालले भन्नुभयो ।
घर बिदामा स्वदेश गएका कार्यबाहक महावाणिज्यदूत सुधिर भट्टराई फर्केपछि मात्र सो विषयमा जेल र अदालतबाट जानकारी लिई आवश्यक प्रकृया अगाडि बढाइने दङ्गालले बताउनुभयो । रासस
No comments:
Post a Comment