राजा महेन्द्र नायक कि खलनायक ?

हरिशमशेर राणाकी छोरी रत्नसँग विवाह गर्ने अडान नछाडेपछि युवराज महेन्द्रलाई नजरबन्द गरी हिमालयविक्रम शाहलार्ई राज उत्तराधिकारी बनाउने तयारी भइसकेको थियो। तत्कालीन नेता विश्वबन्धु थापाका अनुसार महेन्द्रलाई राख्न गोरखा दरबार सरसफाइ गरिएको थियो।

महेन्द्रलाई रोलक्रमबाट हटाउन महावीरशमशेर राणा, महेन्द्रविक्रम शाहलगायतका सक्रिय थिए। अर्कोतर्फ, बीपी कोइरालाले कू गरेर भए पनि राजा बनाइछाड्छौं भनेर युवराज महेन्द्रलाई आडभरोसा दिइरहेका थिए। त्यहीबेला राजा त्रिभुवन सिकिस्त बिरामी भए। उपचारका क्रममा स्विट्जरल्यान्डमा राजा त्रिभुवनको मृत्यु भएपछि (२०११ सालमा) महेन्द्र १७ वर्ष राजा त भए नै, इतिहास पनि अर्को बाटोतिर मोडियो। समाजमा एकथरीले उनलाई राष्ट्रवादी, दूरदर्शी महानायकको रूपमा विश्लेषण गर्छन् भने अर्काथरी प्रजातन्त्र मास्ने तानाशाहको रूपमा चित्रण गर्छन्। जे होस्, शाहवंशमा धेरै चर्चा हुनेमा पृथ्वीनारायण शाह र उनी नै हुन्। प्रखर आलोचक पनि महेन्द्रलाई राष्ट्रवादी मान्न थालेका छन्।

पञ्चायतकालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टका अनुसार राजा महेन्द्र सिकारका क्रममा कैलालीमा रहँदा राजा महेन्द्रलाई 'हार्ट अट्याक' भयो। विष्टकै काखमा टाउको राखेर सुतेका राजाले ‘म मरे पनि मेरो देश बाँचिरहोस्' भने । यही कुरा सार्वजनिक गरेपछि उक्त वाक्य महेन्द्रको उद्गारको रूपमा फैलियो।

'मृत्युको संघारमा पुगेको अनुभूति हुँदा देशप्रेमको वाक्य बोल्ने राजा महेन्द्र वास्तवमा त्यस्तै थिए, उनी भन्छन्। उनकै कुशल नेतृत्वका कारण २००७ सालपछि भारतीय नियन्त्रणमा गइसकेको नेपाल सार्वभौमसत्ता सत्तासम्पन्न र छुट्टै पहिचानको राष्ट्र बन्न सकेको उनको दाबी छ।

२००७ सालमा दिल्ली सम्झौतापछि राजा त्रिभुवन फर्किंदा भारतले उसका प्रशासक गोविन्दनारायणलाई राजाको सेक्रेटरी नियुक्त गरी पठाएको थियो। उनले मन्त्रिमण्डलसम्बन्धी सबै कागजपत्र हेर्ने राजाको विशेषाधिकार प्रयोग गरी आदेश र नियुक्ति प्रमाणित गर्ने तथा राजाको भेटघाट तय गर्नेलगायतका सबै काम गर्ने असीमित अधिकार पाएका थिए।


भारतीय राजदूत (सीपीएन सिंह) मन्त्रिपरिषद् बैठकमा बसेर निर्देशन दिन्थे। राजदूत भगवान् सहाय गभर्नर जनरल जसरी नेपालमा बसेको ऋषिकेश शाहले लेखेका छन्। त्यसबेला भारतीय मिलिटरी मिसन थियो। उत्तरी सीमामा भारतीय सैनिकको चेकपोस्ट थिए। यस्तो हस्तक्षेप राजा महेन्द्रकै पालामा हटाइएकाले उनलाई राष्ट्रवादी भन्ने गरिएको छ।
त्यसबेला भारतीय मिलिटरी मिसन थियो। उत्तरी सीमामा भारतीय सैनिकको चेकपोस्ट थिए । यस्तो हस्तक्षेप राजा महेन्द्रकै पालामा हटाइएकाले उनलाई राष्ट्रवादी भन्ने गरिएको छ।
अर्थशास्त्री विश्व पौडेलका नजरमा राजा महेन्द्र खलनायक थिए। २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना हुँदा स्कुले विद्यार्थी २०१७ सालमा कू गरेर मुलुकलाई पञ्चायती ‘कालरात्रि’ उपहार दिने राजाको रूपमा पढे, भाषण सुने।

युनिभर्सिटी अफ क्यालिफोर्निया (बर्कले) बाट पीएचडी गरी नेपालको आर्थिक इतिहास लेख्न थालेपछि उनको धारणा बदलियो। उनले राजा महेन्द्रमा एउटा राजनेतामा हुनुपर्ने थुप्रै गुण देखे।'चतुर, दूरदर्शी र महत्वाकांक्षी', उनी थप्छन्, ‘राजनेतामा हुनपर्ने गुण उनीमा थियो।' तर शासन गर्ने महत्वाकांक्षाका कारण निरन्तरको अभ्यासबाट प्रजातान्त्रिक अभ्यास दरिलो हुनबाट मुलुक चुक्यो।

निर्वाचित सरकार र संसदीय प्रणालीको घाँटी निमोठ्ने उनको कदमलाई जायज ठहर्‍याउन नसकिने उनी जिकिर गर्छन्। 'समग्रमा उनलाई नायक मान्दिनँ, भन्छन्, ‘तर उनको सकारात्मक पाटोको प्रशंसा हुनपर्छ।' तल्लो सदनको १०४ मध्ये ७२ सिट जितेर कांग्रेसले सरकार बनाएको थियो।

प्रजापरिषद्बाट निर्वाचित दुई सांसद पनि थपिँदा संसद्मा कांग्रेस ७४ सिटसहित सरकारमा थियो। तैपनि राजा महेन्द्रले २०१७ पुस १ मा सेनाको बलमा सरकार अपदस्थ गरी, शासन आफ्नो हातमा लिए।

थापाका अनुसार राणाशासनमा राजाको हालत दयनीय थियो। खर्चबर्च माग्न श्री ३ लाई गुहार्नपर्थ्‍यो। राणाको 'अझै पुगेन' भनेर खस्रो वचन सुन्नुपर्ने अवस्था थियो। महेन्द्रले बाल्यकालमा यस्तै देखे। युवराज भए पनि हेपिएर÷दबिएर बस्नु परेको थियो । यसैले महेन्द्रमा छुट्टै चरित्र निर्माण भएको थियो भन्छन्, थापा।

फेरि, २००७ सालमा राणाशासन सकिएपछि राजा निर्णायक भूमिकामा रहे। चाहेको बेला, चाहेकालाई प्रधानमन्त्री बनाउने र हटाउने भूमिकामा राजा रहे। दिल्ली सम्झौताअनुसार मोहनशमशेर राणाले प्रधानमन्त्री पदमा निरन्तरता पाए पनि २००८ कात्तिकमा उनको राजीनामापछि सरकार बनाउने, गिराउने काम राजाले नै गरे। त्यसपछि राजाले कांग्रेस फुटाएर मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाए।

टंकप्रसाद आचार्य, केआई सिंह पनि क्रमशः आउनेजाने क्रम चल्यो। यसरी प्रधानमन्त्री हटाउने÷बनाउने राजपरिवारको भूमिका २०१५ सालको आमनिर्वाचनसँगै खुम्चियो। कांग्रेस दुई तिहाइ बहुमतसहित सरकारमा पुग्यो।

व्यक्तित्वका युवा बीपी कोइराला प्रधानमन्त्री भए। उनलाई भारतको समेत विश्वास प्राप्त गरेको ठानिएको थियो। 'सरकार बनाउने÷गिराउने निर्णायक रहेनन्’, थापा सुनाउ“छन्, ‘अब थपनाको मात्र राजा बनिने त्रास महेन्द्रमा थियो, जुन उनलाई स्वीकार्य थिएन।'

‘सन् १९६० को अक्टोबरमा राजा महेन्द्रको संयुक्त अधिराज्यको भ्रमण हुँदा मलाई न्युयोर्कबाट पेरिस आउने बोलाहट आयो। मौसुफ आफैंले सक्रिय नेतृत्व लिएर गरिने प्रत्यक्ष शासन र पूर्ण जिम्मेवारीसहित थालिने नयाँ शैलीको शासन पद्धतिबारे छलफल गर्न मलाई डाकिएको थियो।

आफ्नै हातमा शक्ति लिएर पूरा जिम्मेवारी बहन गर्नाले देशको सुस्त गतिको विकास प्रक्रियाले तीव्रता पाउनेछ भन्ने मौसुफको पूर्ण विश्वास थियो', तत्कालीन कूटनीतिज्ञ ऋषिकेश शाहले लेखेका छन्।निर्वाचित सरकार अपदस्थ गरेपछि महेन्द्रले शासन टिकाउन विकास निर्माणमा जोड गरे।

तत्कालीन प्रशासक डा. देवेन्द्रराज पाण्डेका अनुसार निर्वाचित सरकार अपदस्थ गरी थालिएको राजाको प्रत्यक्ष शासनलाई वैधता दिने उपाय विकासमात्र हुन सक्थ्यो। उनले सुरुवात गर्न खोजे पनि। कुलशेखर शर्मा, यदुनाथ खनाल, पद्मबहादुर खत्रीजस्ता काबिललाई सचिव बनाइयो।

अमेरिकामा मेधावी नेपाली पीएचडी गर्दैछ भन्ने सुनेको भरमा भेषबहादुर थापालाई बोलाएर एकैचोटी सचिव बनाइयो। अरूले सय वर्षमा गरेको विकास १० वर्षमा गर्ने भनियो। 'विकास निर्माणका केही महत्वपूर्ण योजना सुरु पनि गरियो, तर अपेक्षित सफलता हात लागेन', उनी थप्छन्।

जबकि त्यहीबेला एक्सिलेटर दबाएको कोरियाले गति रोकिएन। सिंगापुरको रफ्तार बढेको बढ्यै भयो । उही पुरानै सामन्ती प्रणालीको जालो तोड्न नसक्दा अपेक्षित विकास हुन नसकेको उनलाई लाग्छ।

दानदातव्य-बक्सिसमार्फत लोयल्टी खरिद गर्न थालेपछि उनी चुकेको पाण्डे बताउँछन्। सार्वजनिक जंगल, जग्गा बक्सिस दिन थालियो । काठमाडौंका पोखरी बक्सिसमा दिइयो। उनको घर नजिकैको गौचरण रातोपुलसम्म फैलिएको थियो, खुम्चियो।

राजा महेन्द्रका पालामा प्रशस्त विकास निर्माणका काम सुरु भएको बताउने भेषबहादुर थापा उनको पालामा भएका विकास निर्माणलाई उनकै समयअनुसार मूल्यांकन गर्नुपर्ने बताउँछन्। दुईचार करोडको वार्षिक बजेट हुने समयमा पूर्वपश्चिम राजमार्गजस्तो महत्वाकांक्षी योजना सुरु भयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायतका ठूला परियोजना सुरु भए।'खर्बौको बजेट बन्छ, न अर्को राजमार्ग बनेको छ, अर्को अन्तर्राष्ट्रिय विमानस्थल', उनी थप्छन्, 'अब महेन्द्रको पालामा विकास भएन कसरी भन्ने?' उनले आफूलाई मन्त्री र परिवारका नाजायज दबाव नमान्न भन्दै दबाब थेग्न नसके आफूलाई भन्न भनेका थिए।

उनले जरुरी पर्दा सचिवमार्फत र रातको समयमा पनि सैनिक सचिवमार्फत जानकारी गराउन भनेका थिए।मानवशास्त्री डा. हिक्मत विष्टका अनुसार महेन्द्रकालीन शिक्षित पुस्ता भनेको भर्खर पिजडाबाट निस्केको पुस्ता एउटा थियो। पढे-लेखे पनि राणाकालीन दबाबमा हुर्केको, विद्रोह गरिहाल्न नसक्ने अवस्थामा थियो। किनकि बाबुबाजे राणाकै चाकर थिए।

बौद्धिक वर्ग विद्रोह गर्न पनि नसक्ने तर त्वम शरणम् गर्न नसक्ने अवस्थामा थियो । यसैले लिडरसिप कमजोर भयो । यसैले महेन्द्रलाई प्रश्न गर्न सकेन । व्यापार गर्न पनि गाह्रो। साझेदार बनाउन पर्ने नभए आँखा लाग्ने अवस्था।

'मृत्युको संघारमा पुगेको अनुभूति हुँदा देशप्रेमको वाक्य बोल्ने राजा महेन्द्र वास्तवमा त्यस्तै थिए।' किर्तिनिधि विष्ट, पूर्वप्रधानमन्त्री

थपनाको मात्र राजा बनिने त्रास महेन्द्रमा थियो, जुन उनलाई स्वीकार्य थिएन।-विश्वबन्धु थापा, राजनीतिज्ञ
यसैले महेन्द्रलाई शासन चलाउन सजिलो पनि भयो।उनको भूमिसुधार कम्युनिस्टको जस्तो समाजवादी कार्यक्रम हो भन्ने पूर्वमन्त्री दीपक ज्ञवालीको दाबी छ।
विष्टका अनुसार भूमिसुधार कांग्रेसको एजेन्डा खिचेका हुन्। तर खासै सफल भएन ठालुहरूकै जग्गा अहिले पनि धेरै छ, धेरैले जग्गा लुकाए।

भारतबाट खतरा देखेर उनले तराईमा पुनर्वास गराए। मिश्रित बसोबास गराए भारतबाट बच्न सकिन्छ भन्ने थियो । राष्ट्रिय भावनाको दृष्टिकोणका साथै विकासको लागि सोच ठीक भन्ने विष्टको भनाइ छ।

नयाँ रगत नयाँ ठाउँ भए नयाँ आइडिया विकास हुन्छ भन्ने प्रमाणित भइसकेको तथ्य। मेक्सिको र न्यु मेक्सिको ज्वलन्त उदाहरण हुन्। कैलाली, कञ्चनपुर वा झापा, मोरङको विकासलाई पनि मिश्रित विकासको दृष्टिकोणले हेर्नुपर्छ। चितवनको विकास किन भयो र बारा, पर्सा किन पछि परे भन्ने विषयमा पनि घोत्लिन पर्छ।

दक्षिण एसियामा अछुत मानिएको इजरायलसँग कूटनीतिक सम्बन्ध बनाए, हतियार ल्याए। भारतसँग पनि राम्रो सम्बन्ध थियो। अन्तर्राष्ट्रिय छवि बीपीको बन्दै थियो। यसैले संस्था नै अनावश्यक ठानिने हो कि भन्ने डर थियो।


महात्वाकांक्षी राजा
डा. हिक्मत विष्ट
'एक्सट्रिम'मा गएर राजा महेन्द्रको मूल्यांकन हुनेगर्छ, जुन न्यायोचित छैन। उनका राम्रा कुराको मात्र चर्चा गरेर महान बनाउन सकिन्छ। नराम्रा पाटाको मात्र चर्चा गरेर खलनायक पनि। त्यही भइरहेको छ।

उनको काम÷व्यक्तित्वको दुवै पाटो हेरी उनकाबारे धारणा बनाउनुपर्छ। पृथ्वीनारायण शाहपछि धूर्त र महत्वाकांक्षी राजा हुन्। निकटका व्यक्ति कसैलाई भारतनजिक, कसैलाई चीननजिक बनाएर राखेका थिए।

भारत असन्तुष्ट देखिएका बेला भारत निकटस्थ भनिएकालाई, चीनलाई रिझाउन पर्दा चीन निकट भनिएकालाई प्रधानमन्त्री बनाउने चलाखी गर्थे। प्रधानमन्त्री हुँदा तुलसी गिरी भारत भ्रमणमा थिए, उनी गएकै जहाजमा गिरी विरोधी पर्चा पनि छापेर पठाइएको थियो।

यो कुरा पर्चा मस्यौदा गर्ने सचिवले मेरो बुवा (डोरबहादुर विष्ट) लाई सुनाउँदा, सुनेको हुँ। गिरी भारत निकट भनेर चिनिन्थे। भारतमा कुनै सम्झौता गर्लान् भनेर उनको मोराल गिराउन पर्चा छरिएको हुन सक्छ । भारतलाई प्रधानमन्त्री तिमीहरूको हितैषी भए पनि निर्णय गर्ने म हुँ भन्ने सन्देश दिन खोजिएको हुन सक्छ।

राजाहरूमा राष्ट्रियताको भावना हुन्छ नै, किनकि राष्ट्र रहे राजा हुने हो, बलियो भए बलियो राजा। महेन्द्रमा राष्ट्रियताको भावना थियो। छुट्टै पहिचानको नेपाल बनाउने हुटहुटी देखिन्छ। विकास निर्माण एकदम रुचि लिएका पनि हुन्।

उनका महत्वाकांक्षाले जन्माएका समस्या पनि प्रशस्तै छन्। उनका राम्रा कुराको मात्र चर्चा गरेर महान बनाउन पनि सकिन्छ। नराम्रा पाटाको मात्र चर्चा गरेर खलनायक बनाउन पनि सकिन्छ। त्यही भइरहेको छ। एकथरीले महानायक मान्छन्, अर्काले खलनायक।

राणाकालमा शासन गर्न नपाएको पीडा÷कुण्ठाबाट मुक्त हुन त्रिभुवनले पूरै आत्मसमर्पण गरे। राजा भएर पनि राजा भएर बाँच्न नपाउनु भन्ने थियो उनमा थियो। तर आत्मसमर्पण गर्दा भारतको चंगुलमा फस्न पुगे।

सबै कुरा पाए भनेर मुलुक त फर्के, यहाँ आउँदा सबै चीज गुमिसकेको थियो। आत्मसमर्पणको नतिजा मुलुक भारतको कन्ट्रोलमा गयो। महेन्द्रले राणाशासन पनि भोगेका थिए, भारतको हालिमुहाली पनि देखे। महेन्द्रले त्यसबाट मुक्ति खोजेका थिए।

वास्तविक शासक हुने उनको महत्वाकांक्षा सुरुदेखि देखिन्छ, उनमा । तर संसदीय प्रजातन्त्र संस्थागत हुँदै जाँदा सिम्बोलिक राजामा सीमित हुने ठम्याए। प्रजातान्त्रिक अभ्यास परिपक्व हुँदै जाँदा राजसंस्था पूरै सिम्बोलिक हुन्थ्यो।

 राणाशासनमा खोपीको देवता भएर रहेको शाह परिवारले राणा शासनको अन्त्यपछि फेरि त्यही भूमिकामा बस्न मञ्जुर गरेन। अहिले गरिनँ भने राजाको भूमिका फेरि सकिन्छ भन्ने भय उनमा थियो। यसैले उनले कदम चाले।

२०१७ सालको कदम नचाल्दा हुन् त हामी प्रजातन्त्रको परिपक्व अभ्यास गरिरहेका हुने थियौं, यतिबेला । महेन्द्रले विकासको आडमा शासन लम्ब्याउन खोजेका थिए। पूर्वपश्चिम राजमार्गलगायतका केही विकासको आधारशिला सुरु पनि गरियो।

त्यही समयमा फड्को मार्न सुरु गरेका दक्षिण कोरिया, सिंगापुरको सफलता यहाँ रचिन सकेन। यसको कारण हो, सामाजिक संरचना परिवर्तन हुन अपरिहार्य थियो, उनले गर्न चाहेनन्।

महेन्द्रले चाहेर पनि सामन्ती संरचना ढाल्ने अवस्था रहेन। किनकि उनको शासनको खम्बा तिनै सामन्तहरू थिए । महेन्द्रको सत्ताको पिलर राणाशासनमा हालिमुहाली गरेका तिनै राणा र भारदार खलक थिए।

 तिनलाई छाड्दा खम्बा ढलेर संस्था नै गर्ल्यामगुर्लुम हुने डर थियो। त्यही भएर शासन गर्ने तौरतरिकामा खासै बदलाव भएन। उनले भारतको चंगुलमा फस्नुभन्दा राणासँग सम्झौता गरेर शासन चलाउन खोजेका थिए।

बावुले नचाहँदा नचाहँदै पनि राणा परिवारमा विवाह गर्नु पनि उनको रणनीतिक चाल हो भन्ने लाग्छ। राणासँग सम्झौता त गरे, तर तिनलाई पनि कज्याएरै शासन गरे । उनले लोयल्टी किनेर भए पनि सत्ता लम्याउन चाहे।

यस क्रममा सार्वजनिक जग्गा, जंगल बक्सिस दिने क्रमलाई निरन्तरता दिए। हेर्दा, पदमबहादुर खत्रीलाई मेजर जनरलबाट सचिव बनाएरपछि मन्त्री पनि बनाए। तर खत्री त प्रधान सेनापति बन्नुपर्ने थियो।

तर सेनापति त राणाहरूलाई नबनाई नहुने भएकाले उनले बठ्याइँ गरेका थिए। सेनापति त ससुराली खलकलाई बनाउनुपर्ने थियो। खासमा, खत्रीमाथि अन्याय भएको ठान्छु।

सामाजिक परिवर्तनले जनचेतना जगाउँछ र प्रश्न गर्न थाल्छ। त्यो सोचेर नै हुनुपर्छ सामाजिक परिवर्तन ल्याएको जस्तो गर्ने तर उही सामन्ती पाराबाट शासन चलाउने अभ्यास उनले गरे। मुलुकी ऐन त्यसकै उदाहरण हो।

विकासमा अपेक्षित प्रगति हासिल हुन नसक्नुमा हाम्रो परिवेश पनि जिम्मेवार छ। भौगोलिक विकटता एउटा कारण हो। दुवै छिमेकी भर्खर अन्तरद्वन्द्वबाट निस्केर विकासको बाटो समाउने तयारीमा थिए। छिमेकी उदाहरणीय हुँदा पछ्याउन सजिलो हुन्छ।

अहिले चीन, भारतका आर्थिक तरक्कीबाट सिक्ने कुरा धेरै छन्। महेन्द्रलाई यस्तो सुविधा थिएन। हुँदो हो त, उनीजस्ता चतुर राजाको पालामा धेरै हुन सक्थ्यो। भारत सोभियत संघ नजिक थियो। चीन कम्युनिस्ट भयो।

जताको बाटो अनुसरण गरे पनि कम्युनिस्ट भइने अवस्था थियो। उनलाई कम्युनिस्ट बन्नु थिएन। यसैले बडा विरोधाभाषी अवस्थाबाट गुज्रिन परेको थियो। यसैले विकासको मोडलमा अन्योल देखियो।

उनी आफैंमा पनि विरोधाभाष देखिन्छ। घरैमा शिक्षा नलिएका उनले छोराहरूलार्ई प्रजातान्त्रिक मुलुकको उम्दा युनिभर्सिटी पढ्न पठाए। यसले उनले आधुनिकीकरण चाहेको देखाउँछ। बिरामी पर्दा आउन खोज्दा पनि छोरालाई पढाइ सकेर आउनु भनेका छन्।

युनिभर्सिटी पढ्दै गरेका भेषबहादुर थापालाई बोलाएर एकैचोटी सचिव बनाए। नयाँ सोचलाई प्रमोट गर्ने देखिन्छ । तर एउटा हदसम्म विश्वास गर्ने अनि फाल्दिने गरेको देखिन्छ। ज्यादै शंकालु, खुराफाती पनि। यसैले कतिपय नजिक पर्न डराएको देखिन्छ।

अर्कोतिर शासन आफैं चलाउछु नत्र राजपाठ छाड्छु भन्ने खालको हठ थियो । हठी स्वभाव कस्तो भने, जिल्ला÷अञ्चल विभाजनको क्रममा जिल्ला ७४ मात्र पुग्ने भयो। उनले ७५ नै पुर्‍याउनु भने। अनि वरिपरिका जिल्ला कटाएर पर्वतलाई पचहत्तरौं बनाइयो। यो कुरा मलाई उक्त कामको नेतृत्व लिएका मेरा गुरु उपेन्द्रमान मल्लले सुनाउनु भएको थियो।

दरबारमा घुस संस्थागत उनकै पालामा भएको हो। राणाकालमा आर्थिक अभाव झेलेकाले दरबारमा पैसा थुपार्न रुचि लिएको देखिन्छ । भाइद्वय हिमालय र वसुन्धरालाई सोल्टी र अन्नपूर्ण होटेल खोल्न निब्र्याजी ऋण दिलाइएको थियो।

राणा परिवारमार्फत नेपालमा पहिलोचोटी ट्याक्सी भित्र्याउँदा भन्सार छुट गराएर फाइदा लिएको त्यतिबेलै सुनिएको हो। जंगल, सार्वजनिक जग्गा बक्सिस लिँदा पनि फाइदा उठाएको सुनिन्थ्यो÷सुनिन्छ। सरकारबाट बक्सिसमा जग्गा पाएपछि घुस खाने कर्मचारीलाई घुस लुकाउन पनि सजिलो भयो।

इतिहासकार राजेश गौतमले त रत्नसँग विवाह गर्न पनि राणासँग घुस खाए भनेर लेखेका छन्, अपत्यारिलो छैन । वरपरका सचिवहरूले पनि सम्पत्ति जोडेको देखिन्छ। उनले आँखा चिम्लिएको त हो हो। पछि प्रजातान्त्रिक कालमा त्यो छ्यालब्याल भएको हो। धेरैजना भए।

बाहिर देखियो पनि राजनीतिक मान्छेलाई कहिले यता कहिले उता खेलाउन जान्दथे। चार सहिदको सालिकको टाउकोमा राजाको सालिक किन ? उनले सन्देश दिन खोजेका हुन्। डिक्टेटर हुन् भन्न त्यही काफी छ।

२००७ को आन्दोलनले वास्तवमा उपलब्धि भएन। राणा परिवारबाट शाह परिवारमा दिनुबाहेक कुनै दिशा दिएन। तिनै भारदार सत्तामा आए। त्रिभुवनले बिगारेका धेरै काम सुल्टाएका हुन्।

दक्षिण एसियामा अछुत मानिएको इजरायलसँग कूटनीतिक सम्बन्ध बनाए, हतियार ल्याए। भारतसँग पनि राम्रो सम्बन्ध थियो। अन्तर्राष्ट्रिय छवि बीपीको बन्दै थियो। यसैले संस्था नै अनावश्यक ठानिने हो कि भन्ने डर थियो।

प्रगतिशील थिए
दीपक ज्ञवाली
सन् १९६१ मा सेन्ट जेभियर्स स्कुलको दसौं वार्षिकोत्सवमा आएका राजा महेन्द्रलाई स्वागतका क्रममा माला लगाइदिने काम मेरो भागमा परेको थियो । म बालकको हात राजाको घाँटीसम्म नपुगेपछि राजा निहुरिएका थिए। त्यतिबेला उनको अनुहारमा जुन ‘क्यारिज्म्याटिक पर्सनालिटी’ देखें, त्यो राजा वीरेन्द्र र ज्ञानेन्द्रमा थिएन।

राजा महेन्द्रको मूल्यांकन गर्दा उनको समयअनुसार गर्न पर्‍यो। राजा महेन्द्रले शासनमा हात हाल्न थालेको समय कस्तो थियो भने, भारतीय राजदूत क्याबिनेट बैठकमा बसेर निर्देशन दिन्थे। यहाँ भारतीय मुद्रा चल्थ्यो।

उत्तरी सिमानामा भारतीय सैनिकको चेकपोस्ट थिए, मिलिटरी मिसन थियो। यी सबैलाई बिदा गरेर नेपाललाई सार्वभौम राष्ट्र बनाउने काम उनले गरेका हुन् । राष्ट्र बैंक स्थापना गरी नेपाली मुद्रा अनिवार्य गरे। चेकपोस्ट हटाए।

अहिले राजसंस्था नरहँदा खासगरी भारतीय चिन्तित भएको पाउँछु। किनकि राजा न प्रो चाइनिज हुन्छ, न प्रो इन्डियन । राजा हटाएपछि त्यो ठाउँ लिन सक्ने संस्थाको अभाव खट्कियो। राष्ट्रपतिले राजसंस्थाको अभाव पूरा गर्न सकिने देखिएन।

राजा भए कुनबेला प्रो चाइनिज र प्रो इन्डियन ल्याउनु पर्छ जान्थ्यो। इन्डियन कर्मचारी क्याबिनेट बैठकमा बस्थ्यो। यहाँ भारतीय मुद्रा चल्थ्यो। उनले राष्ट्र बैंक स्थापना गरी नेपाली मुद्रा चलाए।

कांग्रेसीहरूले २०१७ सालको कदमलाई असंवैधानिक भनेर महेन्द्रलाई गाली गर्छन्। तर २०१५ सालको संविधानको धारा ५५ मा अवशिष्ट अधिकारको रूपमा संसद् विघटन गर्ने अधिकार राजालाई प्राप्त थियो।

मौसुफले यो धारा कहिले कुन अवस्थामा प्रयोग गर्न भन्ने मौसुफको स्वविकेमा रहने भनिएको थियो। अनि त्यो कदम कसरी असंवैधानिक हुन्छ। राजालाई यतिका स्वविवेकीय अधिकार दिइएको संविधान स्वीकारेर गल्ती त कांग्रेसले गरेको हो।

यो पूर्ण संवैधानिक कदम थियो, अब यो राजनीतिक रूपमा सही थियो वा गलत भन्ने बहसको विषय हुन सक्छ। म त राजनीतिकरूपमा पनि सही ठहर्‍याउँछु । तत्कालीन कांग्रेसको सरकार भ्रष्टाचारको विवादमा फसिसकेको थियो। त्यतिबेला गाउँघरमा नगद आउने भनेको घिउ थियो।

गाईभैंसी पालेर घिउ उत्पादन गर्ने, त्यही घिउ बेचेको नगदले नुनतेल किन्नदेखि दसैंमा लुगाफाटा जोहो गर्ने जनता थुप्रै थिए। तर बीपी कोइरालाकै भाइहरूको सक्रियतामा नेपालमा भारतबाट वनस्पति घिउ (डाल्डा) भित्र्याउने तयारी भयो।

योगी नरहरिनाथ लगायतका विरोधमा उत्रिएपछि योजना विफल भयो। योजना सफल भएको भए, स्थानीय घिउ बिक्री हुँदैनथ्यो। जनता नुनतेल किन्न नसक्ने अवस्थामा हुन्थे । बीपी ३६ वर्षको उमेरमा प्रधानमन्त्री भए, उमेर आलोकाँचो थियो।

भ्रष्टाचारको कारण पनि महेन्द्रले सम्बोधन गर्न जरुरी थियो । राजाले सचेत नगराएका हैनन् । कांग्रेसले एउटा लहरमा दुई तिहाइ ल्याएको थियो । शिवराज पन्तले काठमाडौंमा बसेर सुदूरपश्चिमबाट चुनाव जितेका थिए । महेन्द्रको डायरी आए धेरै कुरा खुल्छ । ज्ञानेन्द्रले कहिले सार्वजनिक गर्ने हुन्?

अशान्त भइसकेको थियो। पटना युनिभर्सिटीले यहाँ परीक्षा लिन्थ्यो। त्रिभुवन विश्वविद्यालय पनि उनको योगदान हो, जसबाट पटना विश्वविद्यालयले परीक्षा लिनपर्ने अवस्था अन्त्य भयो । पछिल्लो समय भारतीयसँग झुक्ने 'लम्पसरवाद' हावी छ।

महेन्द्रको पालामा कुशल कूटनीतिक भूमिका निभाएको थियो। उनले कोदारी (अरनिको) राजमार्ग बनाउँदा भारत सशंकित भयो । तर उनले कम्युनिजम गाडी चढेर आउँदैन भनेर सामसुम पारे। चाइना कार्ड खेल्यो भन्छन्, वास्तवमा उनले नेपाल कार्ड खेलेका हुन्। चीनस“ग सम्बन्ध राखे पनि उनले भारतलाई पनि ठीक ठाउँमै राखेका थिए।

उनी प्रगतिशील थिए भन्ने कुरा उनले मुलुकी ऐनमार्फत छुवाछूतलगायतका कुरीति अन्त्य गर्नुबाट पुष्टि गर्न सकिन्छ। मुलुकी ऐन मेरै बुवाले मस्यौदा गर्नु भएको थियो। त्यसमा महिलालाई सम्पत्तिको अधिकार दिने प्रावधान पनि रहेछ।

उनले कुरा, ठीक हो तर समाज यस्तो सुधारलाई थेग्न सक्ने भइसकेको छैन भनेर हटाउन लगाएका रहेछन्। उनी देशकाल, परिस्थिति बुझ्न सक्ने थिए । २०२३ सालमै सेनामा बाहुन भान्छे हुने पद खारेज गरी छुवाछूत अन्त्य गरिएको थियो।

महेन्द्रलाई मूल्यांकन गर्दा उनको बेलाको समाज बुझ्नुपर्छ । प्रशासन यन्त्रलाई गाउँगाउँसम्म पुर्‍याएका थिए। अहिलेभन्दा समावेशी थियो, शासन। अञ्चलाधीशमा मधेसी बनाउँथे।

अञ्चल, जिल्ला र गाउँ पञ्चायत बनाए । त्यही गाउँ पञ्चायत अहिले पनि गाविसको रूपमा छ। अहिलेभन्दा समावेशी थियो, शासन । मन्त्रीभन्दा शक्तिशाली ठानिने अञ्चलाधीश पदमा मधेसीहरू प्नि थिए।

जनताको नासो जनतालाई दिनुपर्छ भन्नेमा राजा प्रतिबद्ध थिए। राजाको अधिकार क्रमशः जनतामा हस्तान्तरण गर्ने उनको योजना थियो । यसका लागि राजाको आदेशअनुसार संविधान संशोधनको मस्यौदा मेरो बुवाले गर्नुभएको थियो।

राजाले पढेर केही सुझावसहित अर्को मस्यौदा पेस गर्न अह्राएका थिए। तर त्यहीबेला राजा महेन्द्र दिवगंत भएका कारण अधिकार हस्तान्तरणको प्रक्रिया रोकियो। सुधार भनेको क्रमशः गर्दै जानुपर्छ भन्ने मान्यता पनि एकदम सही हो। यहाँ त छलाङ मार्ने भन्छन् । छलाङ मार्न खोज्दा च्यापु खुस्किसक्यो। ..

No comments:

Post a Comment