राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीको रामजानकी मन्दिर भ्रमण र त्यसले उत्पन्न गरेको परिस्थितिले फेरि एउटा नराम्रो र दुःखद प्रसंग जन्माएको छ। रामजानकी विवाह महोत्सव र त्यसमा नेपाल-भारतसहित अन्य इच्छुक तथा आस्थावान् व्यक्तिहरूको सहभागिता त्यो महोत्सवजत्तिकै पुरानो प्रथा हो।
यसले मर्यादा र आदर्शका प्रतीकका रूपमा पुजिएका राम र समर्पण, सेना र मातृत्वकी प्रतीकका रूपमा स्थापित सीतासँग वर्तमान जोड्ने अनि दुई मुलुकमा बस्ने एक संस्कृतिका अनुयायीहरूको एकतालाई निरन्तरता दिँदै आएको छ।
सामाजिक र धार्मिक मान्यता फेरिएका छन्। रामले सीतालाई त्याग्दा पत्नी र नारीमाथि भएको अन्याय अनि प्रतिकार नगर्नु सीताको कमजोरीका रूपमा प्रस्तुत गरिएको छ अहिले। त्यो मान्यता र प्रस्तुतिमा पक्कै पनि 'मेरिट' छ।
धर्मग्रन्थहरूलाई विवेक, विश्लेषण र आधुनिक परिवेशमा हेर्ने, प्रश्न गर्ने स्वतन्त्रता सबैलाई छ, तर द्वापर युगका मूल्य पद्धति र राजकीय दायित्वको परिवेशलाई समेत ध्यानमा राखिनुपर्छ, त्यस्तो विश्लेषण गर्दा।
जे होस्, वार्षिक रामजानकी विवाह महोत्सव समस्त हिन्दुहरूको आस्थामा केन्द्रित पर्व हो । राष्ट्राध्यक्षको त्यसमा सहभागिता स्वागतयोग्य विषय हो, यदि आस्था बोकेको एक व्यक्तिका रूपमा उनको सहभागिता त्यहाँ भएको भए। तर 'धर्म निरपेक्ष' विवादित र बाह्य दबाबमै नेपालमा आए पनि संवैधानिक हिसाबले नेपाल धर्म निरपेक्ष मुलुक हो, अहिलेको लागि।
त्यो संविधानका 'अभिभावक' र त्यसअन्तर्गतको सर्वोच्च पदमा आसीन व्यक्ति राजकीय हैसियतमा मन्दिरमा पुग्नुले ठूलो विवाद निम्त्याउनेछ र त्यसले अरू खालका प्रभावसमेत घटित गराउनेछ। महोत्सवमा सहभागितापछिको भण्डारीको 'भाषण' विशुद्ध साँस्कृतिक र धार्मिक सभ्यतासँग जोडिएको विषयलाई राजनीतीकरण गर्नेछ र धार्मिक केन्द्रहरूमा दलीय राजनीति, द्वन्द्व र अविश्वासले प्रवेश पाउनेछ।
भण्डारीको ‘राजकीय’ हैसियतभन्दा बढी निन्दनीय त्यहाँ प्रदर्शनकारीहरूको विरोध तथा विवाह महोत्सवको कार्यतालिका र कार्यक्रम प्रभावित भएको छ। एउटा सभ्यता र संस्कृति मञ्चनको निरन्तरतामा 'ब्रेक' लगाएको छ, त्यो दुस्साहसले।
त्यत्रि मात्र हैन, मन्दिर परिसरमा पेट्रोल बम तथा अन्य घातक प्रहारद्वारा मन्दिरकै मर्यादा र पवित्रतामा प्रहार गरेका छन्। रामको मर्यादा र सीताको सहिष्णुता दुवैलाई अपमानित गरेको मात्र हैन, चुनौती पनि दिएका छन् उनीहरूले।
राष्ट्राध्यक्ष संयोगले एक 'नारी' पनि हुन्। उनीमाथिको संगठित आक्रमण अत्यन्त निन्दनीय मानिनुपर्छ। त्यस अर्थमा मिथिलाको हक, संस्कृति र दायित्वलाई यदि कुनै अर्थमा आन्दोलकारीहरूले प्रतिनिधित्व गर्छन् भने त्यसका लागि निसर्त क्षमायाचना गर्नुपर्दछ उनीहरूले।
तर धार्मिक स्थलहरूलाई कति राजनीतिको घेराभित्र ल्याउने अनि राष्ट्राध्यक्षको पदलाई कति गरिमामय र विवादरहित बनाउने, यसबारे पनि सरकार र दलहरूले सोच्नैपर्ने भएको छ।
No comments:
Post a Comment