भूपीसँगको त्यो फोटो

पुस १५, २०७२- नेपाली साहित्यमा भूपी शेरचनको स्थान निकै माथि छ । उहाँसँगका केही रमाइला सन्दर्भहरू छन् । सबैभन्दा रोचक के भने उहाँ सँधै टुक्काबन्दी जोडेर कुरा गर्नुहुन्थ्यो । मानाै‌ कवितामै बोलिरहनुभएको छ । जस्तो कि हामीले ‘सहरमा त यस्तो भएछ नि दाइ’ भन्यो भने उहाँ जवाफ दिनुहुन्थ्यो ‘खै सहरमा त थाहा भएन मेरो मनमा चाहिँ के छ के ।’

झट्ट सुन्दा असाध्यै रोचक लाग्ने उहाँका यस्ता टुक्काले पछिसम्म पनि के भन्न खोजेको होला भनेर मस्तिष्कमा घुमिरहन्थ्यो । हुन त हाम्रो पालासम्ममा उहाँको साहित्य लेखन अलिक शिथिल हुन थालिसकेको थियो । तर, उहाँको सिर्जनाले यसरी तानिरहन्थ्यो कि हामी खोजीखोजी काव्यिक ज्ञान बटुल्न उहाँसमक्ष पुग्ने गथ्र्यौं, कहिले नारायणचौरस्थित घरमा त कहिले प्रज्ञा प्रतिष्ठानमा ।


उहाँसित ठ्याक्कै कहिले भेट भो, भन्न त सक्दिनँ, तर जति नजिकिँदै गएँ, उहाँको आनीबानीप्रति झन चासो बढै गयो । एक दिन भेटेको बेला सोधिहालें, ‘दाइको स्वास्थ्य कस्तो छ ?’ उहाँले बडो घुमाउरो तरिकाले कथा बनाएरै पो जवाफ दिनुभो( ‘निम्न मध्यम वर्गीय परिवारको मान्छेले ऋणधन गरेर मिनी बस किनेछ । त्यसैका लागि भएभरको धन सम्पत्ति पनि सकाएछ । एक दिन गाडीको सानो पार्ट बिग्रिएछ । तर, त्यो सानो पार्ट किन्ने पैसा नभएर गाडी नै थन्काएर बसेजस्तो भाको छ भाइ ।’ जीवन बाँचेकै छु तर, आनन्द छैन भन्ने अर्थ बुझाउन उहाँले यो कता सुनाउनुभएको थियो सायद ।

उहाँ सँधै युवा पुस्तालाई साहित्यमा प्रेरणा दिइरहनुहुन्थ्यो । यो उहाँको सबैभन्दा राम्रो पक्ष थियो । कहिल्यै नझर्किने र सँधै ऊर्जाशील स्वभावको प्रशंसक नै थिएँ म । २०४१ तिरको कुरा हो । पाल्पामा कविता गोष्ठी भएको थियो । भूपी दाइ उस बेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पनि हुनुहन्थ्यो । गोष्ठीमा उहाँ प्रमुख अतिथिको हैसियतले त्यहाँ पुग्नुभएको थियो भने हामी युवा कविहरूचाहिँ श्रोता बनेका थियाैं ।

दाइले त्यस बेला ‘सर्पको खोजी’ कविता वाचन गर्नुभएको थियो । विद्रोही भाव बोकेको त्यो रचना सुन्दा पनि हाम्रा आङ सिरिङ्ग भएका थिए । गोष्ठीबाट फर्किने क्रममा हामी होटलमा बस्यौं । दाइले मेरो छेऊ आएर ‘भाइ तिमीसँग एउटा अनुरोध गर्नु छ’ भन्नुभो । आफूभन्दा ठूला कविले गरेको विनम्र अनुरोध के होला ?

उहाँले त रमाइलो पारामा पो भन्नुभो, ‘तिमीसँग एउटा फोटो खिच्न मन छ ।’ मैले नाइँ भन्ने कुरै आएन । फेरि दाइले थप्नुभो, ‘काँधमा हात राख्छु है भाइ ।’ मैले मुस्कुराउँदै स्विकारें । मित्र कवि गगन विरहीले हमेसा क्यामेरा बोकी हिँड्थे तिनताक । भूपी दाजुले नै विरहीलाई आग्रह गर्नुभयो । पछि श्यामश्वेत त्यही तस्बिर एकप्रति दाइले हस्ताक्षर गरेर राख्नुभो भने अर्को प्रति चाहिँ मलाई दिनुभो ।

अहिले त्यही तस्बिर मेरो लागि ऐतिहासिक र उहाँले दिनुभएको अमूल्य चिनो बनेको छ । आउँदै गरेको पुस्तालाई उहाँले गर्नुहुने अपार प्रेम र उत्प्रेरणाको रूपमा म यसलाई लिने गर्छु । अस्ति शुक्रबार भूपी जयन्तीको बेला यो फोटोकथा झन् टडरो भएर याद आयो ।


उहाँसितको अर्को मिठो सम्झना छ । २०४३ ताका नै हुनुपर्छ, मैले कविता संग्रह निकाल्ने सोच राखें । राम्रा कविता छानिदिन भूपी दाइलाई अनुरोध गरें मैले । दाइले मान्नुभएन । उहाँको तर्क थियो, ‘स्रष्टाले जे राम्रो मान्छ त्यही उत्कृष्ट सिर्जना हो । अरूले छुट्टयाउँदा पूर्वाग्रही हुन सक्छ । रचनाप्रति अन्याय हो यो । तिमीले जुन रचना उत्कृष्ट ठान्छौ त्यही राख । आफ्नो मनलाई ढाट्न सकिँदैन ।’ त्यति बेला उहाँले मलाई कति मूल्यवान् कुरा गर्नुभएको रहेछ भन्ने आज पनि बोध हुन्छ । पछि मैले उहाँले भने अनुसार नै गरें । २०४४ मा उहाँकै सल्लाहसहित ‘धर्तीको गीत’ कविता संग्रह प्रकाशत गरेको थिएँ ।



No comments:

Post a Comment