प्रहरी गोलीबाट गौरमा एक जनाको मृत्यु

रौतहट—मधेसी मोर्चाको प्रदर्शनमा सहभागी एक स्कूले युवकको प्रहरीले चलाएको गोली लागी मृत्यु भएको छ। गौरको वीपी चोकमा आन्दोलनकारीले ढुंगा र शिशाका बोतलले प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा रौतहट तेजापाकड-१ का १८ वर्षीय टभरेज आलमको मृत्यु भएको हो।


पेटमा गोली लागेका उनलाई तत्कालै रौतहट जिल्ला अस्पताल गौर पुर्‍याइएको थियो। चिकित्सकले उनलाई त्यहीँ मृत घोषित गरे। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण साहले किड्नी र सम्वेदनशील अंग गोलीले ड्यामेज गर्दा मृत्यु हुन पुगेको नागरिकन्युजलाई बताए।

मृतक साह जुद्ध उच्चमावि गौरमा कक्षा १० मा अध्ययनरत थिए। मामा शेख ओमेससँगै उनी बिहानैदेखि मधेसी मोर्चाको आन्दोलनमा सहभागी थिए।

शनिबारदेखि अान्दोलन चर्किएको गौरको अाइतबार पनि स्थिति तनाबग्रस्त छ।



सदरमुकामस्थित बीपी चोकमा जम्मा भएका आन्दोलनकारीले प्रहरीमाथि ढुंगा फ्याँकेपछि प्रहरीले एक दर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो। आन्दोलनकारीले प्रहरीमाथि शिशा बोतल प्रहार गरेपछि प्रहरीले २ राउन्ड हवाइ फयार गरेको थियो। माइकिङ गर्दै प्रहरीले आन्दोलनलाई शान्तिपूर्ण बनाउनसमेत आग्रह गरे पनि निरन्तर ढुंगा र शिशाका बोतल फालेपछि प्रहरीले चलाउनु परेको जनाएको छ। यसअघि प्रहरीले माइकिङमार्फत् ढुंगा र शिशाका बोतल प्रहार गरे गोली चलाउन बाध्य हुने चेतावनी दिएको थियो।

गौरका मुख्य चोक र बजार क्षेत्रको स्थिति तनाबग्रस्त छ।

No comments:

Post a Comment