चीनले केरुङसम्म इन्धन ल्याइदिने


तर, चिनियाँ अधिकारीले ल्हासाबाट जुन मूल्यमा पेट्रोलियम पदार्थ बिक्री हुन्छ, त्यही मूल्यका गोरमुट रिफाइनरीबाट पनि उपलब्ध हुने प्रतिबद्धता जनाएको त्रिपाठीले बताए। 'चीनको छिङ्गाई र ल्हासा दुवै ठाउँबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ,' सम्भाव्यता अध्ययन सकेर फर्केका त्रिपाठीले भने, 'जुन ठाउँबाट ल्याउँदा फाइदा हुन्छ, त्यहीँबाट नेपाल भिœयाउनुपर्छ।'

छिङ्गाईस्थित गोरमुट रिफाइनरीबाट पेट्रोलियम पदार्थ ल्याउँदा धेरै सस्तो पर्ने नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। 'गोरमुट रिफाइनरी चीनकै ठूला रिफाइनरीमध्ये पर्छ। त्यही भएर मुहानबाट ग्यास तथा हवाई इन्धन ल्याउन पहल गरेका हौं,' टोलीका सदस्य भट्टराईले भने, 'ल्हासामा भएको स्टेसनले हवाई इन्धन र ग्यास नदिने भनेपछि हामी छिङ्गाईतिर लागेका हौं।'

उनका अनुसार गोरमुट रिफाइनरीले तत्कालै दैनिक २ सय टन ग्यास दिने जनाउ दिएको छ। व्यावसायिक सम्झौता भएपछि रिफाइनरीको क्षमता विस्तार गरेर भए पनि नेपाललाई आवश्यक पर्ने ग्यास तथा पेट्रोलियम पदार्थ दिन सक्ने बताएको छ। 'अहिले नै कूल मागको एकतिहाइ पेट्रोलियम पदार्थ दिन गोरमुट रिफाइनरी तयार छ,' भट्टराईले भने, 'अझ उनीहरु नै केरुङ नाकासम्म ल्याउन पनि अघि सरेका छन्।' भारतबाट ल्याउँदा पनि १ हजार २ सय किलोमिटर दुरी रहेकै छ। त्यसबाहेक गोरमुटबाट ल्याउँदा थप ६ सय ५० किलोमिटर मात्रै लामो दुरी पर्न जानेछ।

'गोरमुट रिफाइनरीले तत्कालै २८ प्रतिशत ग्यास उपलब्ध गराउने बताएको छ,' भट्टराईले भने, 'यसले नेपालको कूल मागको ४० प्रतिशत माग धान्छ।' अहिले भारतबाट कूल १८ प्रतिशत मात्रै पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ। त्यसैगरी, कूल मागको ११ प्रतिशत मात्रै ग्यास नेपाल भित्रिएको छ। त्यसमध्ये पनि ३ देखि ४ प्रतिशत मात्रै काठमाडौं आइरहेको छ। सरकारले तत्कालै पहल गरे उक्त रिफाइनरीबाट ग्यास ल्याए, अहिलेको माग सम्बोधन हुने निगमको भनाइ छ।



निगमका अनुसार ल्हासाबाट ल्याउनुभन्दा छिङ्गाईमा सस्तो तथा विभिन्न प्रकारको इन्धन पाइन्छ। गोरमुट रिफाइनरीले अक्टेन ९१ देखि ९८ सम्म पेट्रोल उत्पादन गर्छ। त्यसैगरी, माइनस ३५ डिग्री तापक्रम हुँदा पनि नजम्ने डिजेल त्यहाँ उत्पादन हुन्छ। यसमा नेपाललाई जस्तो आवश्यक पर्छ, छिङ्गाई रिफाइनरीले त्यस्तै उपलब्ध गराउँछ।

नेपालले ल्हासाबाट ल्यायो भने एकै प्रकारको मात्रै पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने हुन्छ। तर, छिङ्गाईबाट ल्याउँदा आफूलाई चाहिए अनुसारको पेट्रोलियम पदार्थ खरिद गर्न सकिने अध्ययनले देखाएको छ।

गोरमुट रिफाइनरीको आफ्नै कच्चा तेलको खानी छ। जुन रिफाइनरीबाट ४ सय किलोमिटर टाढा रहेको छ। त्यहाँबाट कच्चा तेल ल्याएर माग अनुसारको पेट्रोलियम पदार्थ बनाउन सकिने अध्ययनमा देखिएको छ। यो रिफाइनरी नेपालबाट नजिक तथा उपयुक्त भएको भट्टराईले जानकारी दिए।

यसअघि ल्हासास्थित पेट्रो चाइनाका अधिकारीसँग कुरा गर्दा ग्यास र हवाई इन्धन दिन नसक्ने बताएका थिए। तर, गोरमुट रिफाइनरीले सबै पेट्रोलियम पदार्थ केरुङसम्म ल्याइदिने समेत बताएको छ। चीनमा ३० टनका ग्यास बुलेट छन्। जसले केरुङ नाकासम्म ग्यास ल्याइदिने बताएको छ।

निगमका अधिकारीसँग ल्हासास्थित पेट्रो चाइनाका अधिकारीले ग्यास र हवाई इन्धनबाहेकका पेट्रोलियम पदार्थ दिने बताएका थिए। छिङ्गाई रिफाइनरीबाटै इन्धन ल्याएर बिक्री गर्दै आएको ल्हासाले ग्यास र हवाई इन्धन आफैंलाई नपुग्ने बताएको थियो।

नेपाल सरकारको औपचारिक निर्णयबिना पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसकिने चिनियाँ पक्षले प्रस्ट पारेको छ। 'मूल्य र करका विषयमा चीन सरकारको निर्णय चाहिन्छ,' त्रिपाठीले भने, 'यस विषयमा चीन सरकारले निर्णय गरे पेट्रोलियम निर्यात गर्न कुनै समस्या छैन।'

कात्तिक १२ गते नेपाल र चीनबीच पेट्रोलियम पदार्थ आयात गर्ने व्यावसायिक समझदारीमा पत्रमा हस्ताक्षर भएपछि उत्तरी छिमेकी मुलुकबाट इन्धन बाटो खुलेको थियो। बेइजिङमा चीन र नेपालका अधिकारीबीच दुई पक्षीय समझदारीपत्र हस्ताक्षर भएको थियो।

दुई महिनादेखि भारतले लगाएको अघोषित नाकाबन्दीका कारण नेपालमा इन्धनको गम्भीर संकट उत्पन्न भएपछि नेपालले उत्तरी छिमेकीसँग व्यावसायिक सम्झौताका लागि निरन्तर पहल थालेको छ।

नयाँ सरकार गठनलगत्तै आपूर्ति मन्त्री गणेशमान पुन, चीनका लागि नेपाली राजदूत महेश मास्के लगायतको टिमले चीनसँग पेट्रोलियम पदार्थ खरिदका लागि व्यापारिक सम्झौत गर्ने विषयमा निरन्तर छलफल तथा सम्भाव्यता अध्ययन गरिरहेको छ। ल्हासाका लागि नेपाली महावाणिज्यदूत हरिप्रसाद बस्यालले छिङ्गाईस्थित गोरमुट रिफाइनरीबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा सहजीकरण गरेका थिए।
-

No comments:

Post a Comment