जब बिधुवाले पकाएको खाना बहिष्कार गरियो

एजेन्सी : नेपालकी राष्ट्रपति विद्या भण्डारीले जानकी मन्दिरमा टेकेर अपवित्र पारेको भन्दै मधेसी दलका कार्यकर्ताले चोख्याएको घटना सेलाउन नपाउँदै छिमेकी मुलुक भारतमा बिधुवाले पकाएको खाना बहिष्कार गरिएको समाचार आएको छ ।

जनकपुरसँगै सीमाना जोडिएको भारतको बिहारस्थित गोपालगञ्जस्थित एक स्कुलमा बिधुवाले बनाएको खाना खान इन्कार गरिएपछि त्यहाँका जिल्ला अधिकारी नै पुगेर समाधान निकाल्नुपर्यो ।

बिधुवाविरुद्ध विद्यालय घेर्दै स्थानीयबासी
बिधुवाले बनाएको खाना स्कुलमा खान इन्कार गरिएपछि शुक्रवार स्कुलमै पुगेर जिल्ला अधिकारी राहुलले बिधुवाले नै खाना बनाउने आदेश दिएका छन् । उनले विद्यालयमा पुगेर बिधुवाले बनाएर पस्केको खाना पनि खाएका छन् ।

गोपालगञ्जको कल्याणपुर गाउँस्थित एक सरकारी स्कुलमा बिधुवा सुनिताले खाना बनाउने जिम्मेवारी लिएकी थिइन् । उनले खाना बनाएकोमा पछिल्लो दिनमा गाउँका मानिस रिसाउँदै आएका थिए ।

बिधुवालार्इ खाना बनाउन नदिन डेढ सय स्थानीयबासीले स्कुलमा घेराबन्दी पनि गरे । गाउँलेले विद्यार्थी र शिक्षकलार्इ निकालेर विद्यालयमा ताला लगाइदिए ।

समाचार अनुसार सुनितालार्इ स्कुलको खाना बनाउने काममा संलग्न अन्य ६ जना सदस्यसँगै राखिएको थियो । यी छ जना सदस्यले स्कुलका  ७३४ बालबालिकाका लागि खाना बनाउने जिम्मेवारी पाएका थिए ।

स्कुलमा अन्य सदस्यसँगै खाना बनाउने काम पाएकी सुनितालार्इ स्थानीय कथित माथिल्लो जातिका गाउँलेले सुनिताले आइन्दा खाना बनाएको देखेमा राम्रो नहुने भन्दै धम्की दिएका थिए ।

पीडित सुनिताकुमारी
स्कुलमा पुगेपछि जिल्ला अधिकारी राहुलले ट्वीट गर्दै भनेका छन्, 'अशिक्षित र भ्रममा रहेका केही गाउँलेले बिधुवालार्इ स्कुलमा दिउँसोको खाना बनाउन रोकेका थिए । बिधुवाले खाना बनाइराखे आफ्ना छोराछोरी स्कुलबाट निकाल्ने धम्की पनि उनीहरुले दिएका थिए ।'


स्कुलमा पुगेर बिधुवाले बनाएको खाना उनकै हातबाट पस्कन लगाएर खाएपछि उनले अर्को ट्वीट गर्दै भनेका छन्, 'मानिसको भ्रम र कुसंस्कार तोड्क कहिले कहिले यस्तो पनि गर्नुपर्छ । मैले उनै बिधुवा महिलालार्इ खाना बनाउन लगाएँ र मैले खाने खाना उनैले पस्किइन्।'

आफूमाथि अन्याय भएपछि सुनिताले जिल्ला अधिकारी राहुलसँग न्यायका लागि गुहार मागेकी थिइन् ।

दुर्इ सन्तानकी आमा सुनिताले आफ्नो जागिर बचाउन केही दिनअघि गुहार मागेपछि गोपालगञ्जका जिल्ला अधिकारी राहुल स्कुलमै पुगेका हुन् ।

जिल्ला अधिकारी राहुलले स्कुलमै पुगेर उनलार्इ सहयोग गर्ने विश्वास दिलाएका छन् । जिल्ला अधिकारी राहुलले बिधुवा महिला सुनिताले त्यही स्कुलमा खाना बनाउनुपर्ने निर्देशन पनि दिएका छन् ।

No comments:

Post a Comment