चिनियाँ कम्पनीलाई नेपालमा सिमेन्ट उत्पादनको अनुमति

१४ अर्बको लगानी गर्ने प्रस्ताव लगानी बोर्डबाट स्वीकृत

६ पुस, काठमाडौं । सरकारले चीनकै ठूलो सिमेन्ट उत्पादक कम्पनिलाई नेपालमा लगानी गर्न अनुमति दिएको छ । हुवाजिन सिमेन्ट कम्पनि साङघाइलाई नेपालमा सिमेन्ट उत्पादनको अनुमति दिएको हो । कम्पनीले नेपालमा उद्योग स्थापना गर्न वैदेशिक लगानी (एफडिआइ) ल्याउनेसम्बन्धी प्रस्ताव बोर्डमा पेस गरेको थियो ।
उक्त कम्पनिले अबको दुई बर्षभित्र कच्चा पदार्थ क्लिङ्कर उत्पादनसहितको कारखाना सञ्चालनमा ल्याउनेछ । आइतबार साँझ बसेको लगानी बोर्डको बैठकले चिनियाँ कम्पनिलाई नेपालमा एघार लाख टन क्षमता बराबरको सिमेन्ट उद्योग सञ्चालनबारे माग गरेको अनुमतिलाई सदर गरेको लगानी बोर्डका अध्यक्ष राधेश पन्तले जानकारी दिए । पन्तका अनुसार सुरुमा उक्त चिनियाँ कम्पनिले १४ अर्ब रुपैयाँ लगानीको अनुमति पाएको छ ।
ओली प्रधानमन्त्री भएपछिको बोर्डको पहिलो बैठकले सोसम्बन्धी प्रस्तावलाई स्वीकृति दिएको हो । यो निर्णयपछि अब कम्पनीले नेपालको उद्योग विभागमा साझेदार कम्पनी दर्ता गरी कार्य अघि बढाउने छ ।
चीनकै होङ्सी गु्रपले हेटौंडास्थित शिवम् सिमेन्ट उद्योगमा लगानी गर्दैछ । शिवममा होङ्सीको ७० प्रतिशत तथा नेपालीको ३० प्रतिशत लगानी हुनेछ । सरकारले २०७३ सालपछि विदेशी सिमेन्ट आयातमा प्रतिबन्ध लगाउन स्वदेशमै उत्पादन गर्न चाहने उद्योगलाई विशेष सुविधा दिने घोषणा गरेपछि लगानीकर्ता आकषिर्त भएका हुन् ।
उर्जाको माग अध्ययनका लागि समिति
लगानी बोर्डले मुलुकका लागि आवश्यक उर्जाको माग अध्ययनका लागि योजना आयोगका उपाध्यक्ष डाक्टर युवराज खतिवडाको संयोजकत्वमा माग अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उर्जा माग अध्ययनका लागि समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा उर्जा मन्त्रालय र लगानी बोर्ड समेत रहनेछन् । बैठकले लगानी बोर्ड ऐन प्रभावकारी र समयसापेक्ष बनाउन ऐन संशोधन मस्यौदा तयार गर्ने जिम्मेवारी बोर्डलाई दिएको छ । उक्त मस्यौदा प्रधानमन्त्री कार्यालयमा पेश भई आवश्यक संशोधनपछि पुनः बस्ने बोर्ड बैठकबाट पास हुनेछ ।
वायु उर्जा निर्माण र विस्तार गर्ने
बैठकले लगानी बोर्डको नेतृत्वमा निजी क्षेत्रको सहकार्यमा वायु उर्जा निर्माण र विस्तार गर्ने निर्णय पनि गरेको छ ।

बुढी गण्डकी विद्युत आयोजनाको माग अनुसार लगानीमैत्री वातावरण बैधानिकता लगायतका लागि प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । बोर्ड बैठकले ठूला परियोजनाको सेयर कारोवार, मूल्य, कस्लाई कति शेयर लगायतबारे प्रभावकारी मापदण्ड तयार पार्ने निर्णय पनि गरेको छ ।
पन्तका अनुसार बैठकले मुलुकमा ऊर्जाको माग बढेका सन्दर्भमा सोलार, वायु उर्जा उत्पादनका लागि गोर्खाज युके कम्पनीलाई अख्तियारी दिन सरकारलाई सिफारिस गरेको छ ।

No comments:

Post a Comment