वैज्ञानिक भन्छन्, ‘लाङटाङको हिमपहिरो हिरोसिमा खसाएको एटम बमभन्दा आधा शक्तिशाली’

काठमाडौं – गत वैशाख १२ को विनाशकारी भूकम्पपछि लाङटाङमा आएको हिमपहिरोको शक्ति एउटा एटम बमभन्दा आधा शक्तिशाली रहेको एक अध्ययनले देखाएको छ । नेपालको चर्चित ट्रेकिङ रुटमा पर्ने लाङटाङमा आएको उक्त हिमपहिरोमा परी विदेशी पर्यटकसहित करिब ३ सय ५० जनाले ज्यान गुमाएका थिए ।


उक्त हिमपहिरोको शक्ति ७.६ किलोटन टिएनटी विष्फोट गराए जतिकै रहेको उक्त अध्ययनले देखाएको छ । सन् १९४५ मा जापानको हिरोसिमामा खसाएको एटम बमको शक्ति १७ किलोटनको थियो ।
घटनाबाट बच्न सफल प्रत्यक्षदर्शीले एउटा कारजत्रो ठूलो ढुंगाहरु त्यो दिन लाङटाङमा खसेको बताएका छन् । एकैछिनमा गाउँमा केवल एउटामात्र घर बाँकी भयो । लाङटाङमा अझै पनि १ सयभन्दा बढी मानिस हराइरहेको बताइएको छ ।
विभिन्न देशका ६४ वैज्ञानिकका अनुसार ६.५ फिट बाक्लो बरफ र हिउँको टुक्रा एउटा डाँडामा ठोक्किएर उडेर जमिनमा बजारिएको थियो । उक्त टुक्रा ४ हजार फिट पर झरेको थियो भने त्यसको अन्तिम गति २ सय फिट प्रति सेकेण्डको थियो ।



त्यतिबेला हिमपहिरो र आँधीको गति २ सय माइल प्रतिघण्टाको थियो जुन अहिलेसम्मकै शक्तिशाली आँधी जत्तिकै शक्तिशाली थियो । त्यसमा ढुंगाले बनेको घरहरुलाई जगदेखिनै ध्वस्त पार्ने शक्ति थियो । त्यो दिन आएको आँधीले लाङटाङको विपरित डाँडामा रहेको जंगललाई १३ सय फिटमाथि सम्म ध्वस्त बनाएको प्रमाण वैज्ञानिकहरुले फेला पारेका छन् ।

यस अध्ययनका मुख्य वैज्ञानिक एरिजोना विश्वविद्यालयका ग्लेसिओलोजिस्ट जेफ्री एस कार्गलका अनुसार उक्त आँधी यति शक्तिशाली थियो कि रुखको बोक्रासम्म उक्किएको थियो । ‘त्यहाँको स्थिति र हिरोसिमामा बम खसाएपछिको स्थिति लगभग समान थियो । लाङटाङ निकै भयानक थियो,’ उनले भने ।
सोचे कम क्षति भयो
अध्ययले ७.८ रेक्टर स्केलको भूकम्पले सोचेभन्दा कम क्षति भएको पनि निश्कर्ष निकालेको छ । त्यति ठूलो भूकम्प आएपनि नेपालको हिमतालहरुमा ठूलो असर नदेखिएको अध्ययनले निश्कर्ष निकालेको छ । भूकम्पले जमिनलाई धेरै तीव्रताका साथ नहल्लाएको निश्कर्ष वैज्ञानिकहरुको छ ।
‘लाङटाङ गाउँ भने गलत स्थानमा थियो,’ वैज्ञानिक जोसेफ एम सियाले भने ।

No comments:

Post a Comment