महिलामा यौन समस्या अनि समाधान -डा. अनुपमा सुवाल

पुरुषका तुलनामा महिलाका यौन समस्याबारे त्यति चर्चा गरिएका छैनन् । यौन इच्छा र उत्तेजनाको कमी, चरमसुखको अभाव र सम्भोगका बेला हुने कष्टजस्ता यौन समस्याले महिलाको जीवनलाई रुग्ण, बेस्वादिलो र अस्वस्थ बनाउँछन् ।

-डा. अनुपमा सुवाल

यौन जीवनको अभिन्न अंग हो । धेरै महिला विभिन्न यौन समस्याले पीडित हुन्छन् । केही यौन समस्याको समाधान एक्लैले गर्न सकिन्छ भने केहीका लागि चिकित्सकको सल्लाह आवश्यक पर्छ । पुरुषमा भन्दा महिलामा यौन समस्या बढी हुन्छन् । यौन आफैँमा जटिल विषय हो । यसको अल्पज्ञानले यसलाई अरू जटिल बनाइदिन्छ । त्यस्तै, तथाकथित यौन ज्ञाताहरूको अधकल्चो सल्लाह र सुझावले यौन समस्या झन् बल्झिन्छ ।

यौन पहिले इच्छाबाट सुरु हुन्छ, यौन इच्छाले एराउजल (उत्तेजना) गराउँछ र त्यसपछि अग्र्याजम (चरमोत्कर्ष) मा पु¥याउँछ भन्ने विचार व्याप्त छ । पुरुषका हकमा यो कुरा सत्य भएपनि महिलाका हकमा यसो नहुनसक्छ । महिलामा शारीरिक चाहनाबाटै यौनको सुरुआत नहुनसक्छ । यौनको शारीरिक चाहना यौन गतिविधि सुरु भएपछि मात्र पनि हुनसक्छ । धेरै महिलाले सेक्स गर्दा अग्र्याजममा नपुगे पनि आफू सन्तुष्ट भएको बताउँछन् । यौनको भौतिक र भावुक पक्षले चरमसुखसबिना पनि आनन्द दिनसक्छ । तर केही महिलालाई चरमोत्कर्षमा नपुग्दा यौन असन्तुष्टि रहन्छ । यौन सम्पर्कबाहेक चुम्बन, संवेदनशील अंग स्पर्श आदिले उनीहरूलाई बढी उत्तेजनामा ल्याउनुपर्ने हुन्छ ।
यौन समस्या मुख्यतया चार प्रकारका हुन्छन्, यौन इच्छाको समस्या, यौन उत्तेजनाको समस्या, सम्भोग सुखको समस्या र यौन पीडाको समस्या ।


यौन इच्छाको समस्या

जब कुनै महिला कुनै पनि यौन गतिविधिमा संलग्न हुन चाहन्नन्, उनलाई यौनको कल्पना या विचार आउँदैन भने उनमा यौन इच्छाको समस्या रहेको हुन्छ । यो चिन्ताको विषय हो ।

यौन उत्तेजनाको समस्या

यौन उत्तेजनाले शरीरमा भौतिक र भावनात्मक परिवर्तन ल्याउँछ । रक्तचाप, मुटुको धड्कन, सास र शरीरको तापक्रम बढ्नु, स्तन र योनीमा रक्तप्रवाह बढ्नु र योनी चिप्लो हुनु तथा फुल्नु यौन उत्तेजनाका लक्षण हुृन् । केही केही महिलामा यौन उत्तेजनाका यी संकेत देखिँदैनन् । रोग, मानसिक तनाव, रक्सी सेवन, धूमपान आदिका कारण महिलामा यौन उत्तेजनाको समस्या आउनसक्छ ।
सम्भोग सुखको समस्या

सम्भोग सुखको अनुभव नभएपनि महिलालाई पुरुषको प्रेम र निकटताले सन्तुष्टि दिनसक्छ । तर, कसै कसैलाई चरमसुखको अभावले चिन्तित बनाउँछ । आफ्नो प्रेमी या श्रीमान्लाई विश्वास नगर्ने र बढ्दो उमेरका महिलालाई यो समस्या हुन्छ ।

यौन पीडाको समस्या

यौन सम्पर्क हुँदा महसुस हुने दुखाइलाई यौन पीडा भनिन्छ । अधिकांश महिलाले जीवनको कुनै न कुनै विन्दुमा यौन पीडा भोगेका हुन्छन् । तर यौन पीडा अत्यधिक र सधैँ भएमा चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।
यौन समस्याका कारण

बढ्दो उमेर
महिलाको यौन चाहना बढ्दो उमेरसँगै घट्दै जान्छ । यसले वैवाहिक जीवनमा समस्या ल्याउन सक्छ । श्रीमान्श्रीमतीले यसबारेमा खुलेर कुरा गर्नुपर्छ र एकअर्कालाई कसरी सन्तुष्टि दिने भन्नेमा ध्यान दिनुपर्छ । स्वस्थ र सुखी जीवन व्यतीत गर्न यौनलाई निरन्तरता दिनसक्नुपर्छ ।
हार्मोनको परिवर्तन
जीवनका विभिन्न चरणमा महिलाको यौन चाहना र प्रतिक्रिया फरक फरक हुनसक्छन् । गर्भवती हुँदा, महिनावारी रोकिएपछि या महिनावारीका दिन अनुसार यौन चाहनामा परिवर्तन आउँछ । शरीरमा हुने हार्मोनको परिवर्तनले यस्तो हुन्छ । एन्ड्रोजिन हार्माेनले यौन चाहना घटाउँछ भने एस्ट्रोजिन हार्माेनले योनीलाई सुख्खा पार्ने काम गर्छ जसले यौनसम्पर्कलाई कष्टदायी बनाउँछ ।
अन्य कारण
रोग या कुनै विशेष औषधि सेवनले यौन समस्या हुनसक्छ । पुरुषसँग आत्मीय सम्बन्ध नहुँदा पनि महिलामा यौन समस्या देखिनसक्छ । पुरानो दुखद अनुभव या डिप्रेसनले पनि यौन समस्या हुनसक्छ ।
समाधानका उपाय
यौन समस्याले चिन्तित पारेको छ भने मात्र यसको समाधान खोज्नु जरुरी हुन्छ । सबैभन्दा पहिले महिला र उनका प्रेमी या पतिले समस्यालाई बुझ्नुपर्छ । सिधा यौनसम्पर्कबाहेक अरू गतिविधिले पनि यौन अनन्द दिनसक्छ भन्ने बुझ्नुपर्छ । संवेदनशील अंगमा छुनु, हस्तमैथुन (मास्टरबेसन), मुखमैथुन (ओरल सेक्स) गर्नु आदि पनि सम्भोग सुख प्राप्त गर्ने उपाय हुन् । लागूपदार्थको लत छ भने यौन समस्याबाट मुक्त हुन यसको परित्याग अत्यावश्यक छ । चिकित्सकको सल्लाह लिनुअघि यी प्रयास गरेमा यौनसमस्याबाट पार पाउन सकिन्छ :
–महिलामा यौन इच्छा जगाउन या बढाउन उनको प्रेमी या पतिसँग आत्मीय सम्बन्ध हुनुपर्छ । कुनै पनि समस्यामा खुलेर कुरा गर्नुपर्छ । सम्भोगमा भन्दा आत्मीयतामा बढी ध्यान दिनुपर्छ । यौन ज्ञान र सम्भोग कला महिलाका यौन समस्या हटाउन उपयोगी हुन्छन् ।
–पर्याप्त आराम गरेर, प्राक्क्रिडा (फोरप्ले)को अवधि बढाएर, योनीका मांसपेशीको कसरत (केगेल एक्सरसाइजेज) गरेर यौन उत्तेजना बढाउन सकिन्छ ।
–यौन उत्तेजना बढाउने क्रियाकलाप गर्नु, सम्भोगमा एकाग्र हुनु र यौनसम्बन्धी कल्पना गर्नु सम्भोग सुख बढाउने उपाय हुन् ।
–विभिन्न सम्भोग आसन प्रयोग गर्नु, पर्याप्त फोरप्ले गर्नु, तातो पानीले स्नान गर्नु, सम्भोगअघि पिसाब फेर्नु आदि उपाय अपनाएर सम्भोग पीडा घटाउन या हटाउन सकिन्छ । यी प्रयासहरूले यौन समस्या समाधान भएनन् भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

No comments:

Post a Comment