धनगढी नाकाबाट ३८ ट्याङकर तेल भित्रियो


बजारमा केही हदसम्म इन्धन सहज हुँदै गइरहेका बेला एक सातासम्म तेल नआएपछि यस क्षेत्रमा तेलको अभावले समस्या चुलिएको छ। निगमका क्षेत्रीय प्रमुख शरद पौडेलले मंगलबार ३८ ट्याङ्कर तेल गौरीफन्टा नाकाबाट भित्रिएको बताएका छन्। भित्रिएको इन्धन बुधबार बजारमा बितरण गरिने उनले बताए। 'एक सातासम्म एक थोपा पनि तेल नअउँदा अभावले निकै समस्या भएको थियो,' क्षेत्रीय प्रमुख पौडेलले भने, 'आज ३८ ट्याकंर भित्रिएपछि अलि राहात हु्ने भएको छ।'


मंगलबार २० हजार लिटर क्षमताका २४ ट्याङ्कर र १२ हजार लिटर क्षमताका ४ ट्याङ्कर गरी २४ ट्याङ्करमा ५ लाख २८ हजार लिटर डिजेल भित्रिएको हो। २० हजार क्षमताका ४ ट्याङ्करमा ८० हजार लिटर पेट्रोल भित्रिएको उनले बताए। बनथरा डिपोमा नै तेल स्टक नभएको भन्दै ७ दिनसम्म तेल नदिएको उनको भनाइ छ । 'तेल ल्याएर आउने रेल नआएकाले तेल स्टक छैन भन्दै तेल दिन रोकेको थियो,' पौडेलले भने। मंगलबार पनि १५ ट्याङ्कर तेल लोड गरिएको छ। ती ट्याङ्कर बुधवार मात्र धनगढी आइपुग्ने छन्। ७ दिनसम्म तेल नआउँदा यस क्षेत्रमा तेल अभावले बिरामीलाई समेत अस्पताल पर्याउन समस्या भएको स्थानीयको गुनासो छ। 'तेलको अभावमा सवारी साधन थन्क्याउनु परेको थियो,' स्थानीय जिप व्यवसायी जयबहादुर बोहराले भने।

बुधवारदेखि पेट्रोल पम्पमा तेल बितरण गरिएमा अवस्था अली सहज हुने निगमका क्षेत्रीय प्रमुख पौडेलले बताए। गत अससोज पहिलो सातादेखि नाकाबन्दी लगाएर थोरै मात्रामा तेल दिएर अभाव सिर्जना गरेकोमा पुषको शुरुदेखि मागेजति तेल दिन शुरु गरेको थियो। ४/५ दिनमा कोटाअनुसार तेल दिएको बनथरा डिपोले स्टक सकिएको र आपूर्ति नभएको भन्दै पुनः रोक लगाएको थियो। अब नियमित मागेजति तेल दिएमा बजारमा अभावको समस्या समाधान हुन एक साता लाग्ने पौडेलले बताए।

ट्याङ्करको अभावले डिपोले मागे बमोजिम दिएका बेला पनि बढी तेल आपूर्ति गर्न सकिने अवस्था छैन। एक सातासम्म रोकिएकाले मात्र एकै पटक ३८ ट्याङ्कर तेल भर्न सकिएको हो। अन्य अवस्थामा भारतीय डिपोले तेल दिए पनि २०÷२५ भन्दा बढी ट्याङ्कर नै निगमले उपलब्ध गराउन सकेको छैन।

दिनमा २० देखि २५ ट्याङ्कर मात्र तेल भर्न सकिने गरी निगमले ट्याङ्कर भाडामा लिएकाले ट्याङ्कर अभाव भएको हो। नेपाल आयल निगम कार्यालयले सुदूरपश्चिम क्षेत्रका लागि बनथरा डिपोबाट तेल आपूर्ति गर्न ६२ ओटा ट्याङ्कर भाडामा लिएको छ। विभिन्न डिलरमा अनलोड गर्न ट्याङ्कर पठाउनु पर्ने भएकाले प्रत्येक दिन तेल भर्नका लागि ६२ ओटा मध्ये २४÷२५ ट्याङकर मात्र बनथरा डिपो पठाउन सकिने अवस्था रहेको पौडेलले बताए। रोड परमिटलगायका कागजपत्र नमिल्ने भएकाले देशका अन्य क्षेत्रमा ढुवानी गर्ने ट्याङ्कर यस क्षेत्रको नाकाबाट तेल भिœयाउने कार्यमा लगाउन सकिँदैन।

No comments:

Post a Comment