सामाजिक सञ्जालका टप टेन हिट

२०१५ को अन्त्यसँगै अहिले वर्षभरि भएका घटनाक्रमको समीक्षा भैरहेको छ । फेसबुक, विङजस्ता सामाजिक सञ्जालले वर्षभरिका घटनाक्रमलाई विश्लेषण गरेर टप टेन हिट सामग्रीहरूको ट्रेडिङ  सार्वजनिक गर्ने क्रम जारी छ । सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले हालै २०१५ को समिक्षा रिपोर्ट सार्वजनिक गरेको छ, जसमा नेपालको भूकम्प पनि सर्वाधिक हिटको चौथो स्थानमा छ । अमेरिकाको सूचीमा पनि नेपालको भूकम्प १० औं स्थानमा छ ।


१. अमेरिकी राष्ट्रपतिको उम्मेद्वारी
सामाजिक सञ्जालमा सबैभन्दा हिटको पहिलो स्थानमा अमेरिकामा हुने राष्ट्रपति निर्वाचन छ । आगामी वर्ष २०१६ मा हुने निर्वाचनका लागि उम्मेदवारी दिने क्रममा नेताहरूले व्यक्त गरेका लक्ष्य तथा कार्ययोजना एवं वैदेशिक रणनीतिहरूका कारण यो वर्ष यी सामग्रीहरू सर्वाधिक चर्चामा रहे ।

२. पेरिस आक्रमण
नोभेम्बर १३ मा भएको पेरिस हमलाको विषय पनि यो वर्ष सामाजिक सञ्जालमा हिट रह्यो । आईएसको उक्त हमलामा १ सय ४० जनाभन्दा बढीको मृत्यु भएको थियो । हमलाका विरुद्ध विश्व समुदायले चिन्ता व्यक्त गर्दै आईएसविरुद्ध लड्ने बताएका थिए । यस क्रममा फेसबुकको सेफ्टीचेक अधिक प्रयोग हुनुका साथै प्रोफाइल फोटो परिवर्तन गर्ने लहर नै चलेको थियो । पेरिस आक्रमणको तीन दिनपछि फ्रान्सले सिरियामा भिषण आक्रमण गरेको थियो ।

३. सिरिया युद्ध
यो वर्ष सिरिया युद्ध सर्वाधिक चर्चाको तेस्रो स्थानमा रह्यो । सन् २०११ देखि सुरु भएको युद्ध पछिल्लो समय थप आक्रामक बन्दै गएको छ । त्यहाँ राष्ट्रपति बसारको राजीनामाको माग गर्दै विपक्षी समूह अहरर अलमालले संघर्ष गर्दै आएको छ । युद्धका क्रममा २ लाख ५० हजारभन्दा बढीको ज्यान गएको छ भने ११ लाख बढी मानिस घर छोडेर छिमेकी मुलुक पुगेका छन् । सिरियामा आईएसको आक्रमण बढ्न थालेपछि अमेरिकी नेतृत्वमा केही विदेशी मुलुकका सेनाहरूले निरन्तर हमला गरिरहेका छन् ।

४. नेपालको भूकम्प
फेसबुकले सार्वजनिक गरेको सूचीमा नेपालको भूकम्प चौथो स्थानमा छ । गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र भएर बनाएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पमा परी करिब ९ हजार मानिसको मृत्यु भएको थियो । त्यसपछि बिश्व समुदायको ध्यान नेपालतर्फ केन्द्रित भएको थियो । विश्व समुदायबाट राहत तथा उद्धारका लागि पहल भएका थिए । उक्त भूकम्पको परम्पन आउने क्रम अझै जारी छ ।

५. ग्रिसको आर्थिक संकट
ग्रिसमा छाएको आर्थिक संकटले पनि यो वर्ष निकै चर्चा पायो । ग्रिसको आर्थिक अवस्था उसको देशभित्रको पुँजीले धान्नै नसक्ने अवस्थामा पुगेको थियो । त्यसपछि युरोपेली महासंघ, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा युरोपेली बैंक आदि वित्तीय संस्थाहरूले कर्जा लिन कडा सर्त राखेका थिए । यस विषयमा सरकारले जनमत संग्रहमा जाने निर्णय गर्‍यो । अन्तर्राष्ट्रिय दाताबाट थप जमानत लिने कि नलिने भन्ने विषयमा जनमत संग्रह भएको थियो, जसमा दाताको जमानत नलिने पक्षमा अधिक मत खसेको थियो । त्यसपछि युरोपियन युनियन सम्बद्ध राष्ट्रहरूले ग्रिसलाई युरोपेली समुहबाट हटाउनेसम्मका प्रतिक्रिया दिए । पछि युरोपियन मुलुकबाट ग्रिस नअलग्गिने निश्चित भयो । अब तीन वर्षभित्र ग्रिसलाई ८६ अर्ब युरो उपलब्ध गराइने भएको छ ।

६. समलिंगी विवाह
समलिंगी विवाहले पनि यो वर्ष निकै चर्चा पायो । अमेरिकी अदालतले समलिंगी विवाहलाई मान्यता दिएपछि यो विषयले विश्वभर चर्चा पाएको हो । यस विषयमा २६ लाखभन्दा बढी व्यक्तिले प्रोफाइल फोटो रंगीन बनाएको फेसबुकले जनाएको छ ।

७. आईएस आतंक
विश्व समुदायको टाउको दुखाईको विषय बनिरहेको आईएस आतंकले यो वर्ष पनि निरन्तरता पायो । करिब २ वर्षको अन्तरालमा विश्वका ७० देशमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारेको आइएसको मुख्य थलो इराक र सिरिया मानिन्छ । यसका प्रमुख व्यक्ति हुन्– बगदादी । आईएसको एउटै उद्देश्य हो मुसलमानहरूको अलग्गै इस्लामिक राज्य घोषणा गर्नु । इराक र सिरियाका प्रमुख सहरहरू समेत कब्जामा लिएर इस्लामिक राज्य घोषणा गरिसकेको आईएसविरुद्ध अमेरिका, जर्मनी, बेलायत, फ्रान्स, पोल्यान्ड, अस्ट्ेरलिया, इटली, क्यानाडा, नर्वे, फिनल्यान्ड, स्वीजरल्यान्ड, टर्की, स्पेन, जापान, न्युजिल्यान्ड, हंगेरी, दक्षिण कोरिया आदि मुलुक सशक्त प्रतिकारमा लागेका छन् ।

८. चाल्र्स हेब्डो आक्रमण
फ्रान्सको चर्चित व्यंग्य पत्रिका चाल्र्स हेब्डोमाथि भएको आक्रमणले विश्वभर तहल्का मच्चायो । जनवरी ७ मा हतियारधारी समूहको आक्रमणमा परी पत्रिकाका सम्पादकसहित ८ जना पत्रकार तथा २ जना प्रहरीको मृत्यु भएको थियो ।

९. बाल्टिमोर काण्ड
एक युवकको मृत्यु प्रकरणले सिंगो अमेरिकालाई प्रभावित बनाएको यो घटना निकै चर्चित भएको थियो । कालाजातिका एक २५ वर्षीय ग्रे सफर्डको हिरासतमा मृत्यु भएपछि घटनाले चर्काे रूपमा लियो । आन्दोलन चर्कंदै जाँदा १ सय २५ भन्दा बढी सवारी साधन जलाइए । मेरिल्याण्डमा कफ्र्यू नै लगाउनुपर्‍यो । काला जातिको भएकै कारण मारिएको भनेर सुरु भएको उक्त बआन्दोलनले उग
रूप लिँदै सारा विश्वलाई चकित तुल्याई दियो ।

१०. चार्लस्टन सुटिङ
१७ जुनमा अमेरिकाको चाल्र्सटन चर्चमा भएको घटना पनि निकै चर्चामा रह्यो । घटनामा चर्चका पादरीसहित ९ जनाको मृत्यु भएको थियो ।


No comments:

Post a Comment